उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ जाँदैन: मन्त्री रिजाल

बिहीबार, असोज ४, २०८०

नेपालगन्ज । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको मनोबल उच्च नहुँदासम्म मुलुक समृद्धितर्फ अग्रसर हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले उद्योगी व्यवसायीप्रति नकारात्मक सोच रहेको भन्दै त्यस्तो सोच नहटाउँदासम्म उद्योग व्यवसाय फस्टाउन नसक्ने बताए । 

उद्योग व्यवसाय नफस्टाउँदासम्म मुलुक समृद्धिको यात्रामा अगाडि बढ्न नसक्ने मन्त्री रिजालको भनाई छ । उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार तत्पर रहेको बताउँदै उनले उद्योगी व्यवसायीको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताए । 

बाँके नौवस्तास्थित औद्योगिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले काम गर्ने उनको भनाई छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका  मन्त्री रिजालले उच्च मनोबलका साथ काम गर्न पार्टी पंक्तिलाई आग्रह गरे । लोकतन्त्रको विकास र स्थायित्वका लागि विचलित नभएर आ-आफ्नो कार्यक्षेत्रमा लाग्न उनको आग्रह छ ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्