'संविधानको पूर्ण कार्यान्वयन नहुँदा चिन्ता'

बुधबार, असोज ३, २०८०

नेपालगन्ज । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संविधानको पूर्ण कार्यान्वयन नहुनु चिन्ताको विषय भएको बताएका छन् ।

नेपालगन्जमा आज नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘संंविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक’ अन्तरक्रियामा उपस्थित अधिकांश सहभागीले नेतृत्वमा रहेका व्यक्तिहरुको कमीकमजोरीका कारण संविधानको पूर्ण पालना नभएको बताएका हुन् ।

संविधानको व्यवहारिक कार्यान्वयनका लागि राजनीतिक दलहरु इमान्दार बन्नुपर्नेमा जोड दिइएको छ । राजनीतिक इच्छाशक्तिले संविधानको भविष्य निर्धारण हुने उनीहरूको भनाई छ । 

अन्तरक्रियामा संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले संविधान कार्यान्वयन गर्ने पक्ष नै कमजोर बन्न पुगेको बताए । ‘संविधान जनताबाट निर्माण हुनुपर्छ भनेर भन्दै गर्दा आज झण्डै दशक पुग्दा समेत यसको कार्यान्वयन पक्ष बलियो हुन पुगेको छैन,’ बाल्मिकीले भने, ‘हाम्रो संविधान उत्कृष्ट छ तर कार्यान्वयन पक्ष कमजोर छ । त्यसमा सबै पक्षले जोड दिनुपर्छ ।’ 

कार्यक्रममा राजनीतिक विश्लेषक डा.जनार्दन आचार्यले विश्वको उत्कृष्ट भनिएको नेपालको संविधान कार्यान्वयनमा कमजोर देखिएको बताए। संविधानले आमजनतामा आशा जगाउन नसकेको उनले बताए । राजनीतिक दलहरुको कमजोर इच्छाशक्तिले संविधान फेरि दुर्घटनामा पर्ने जोखिम रहेको उनको जिकिर छ । 

नेपाल बारका पूर्व केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले संविधान निर्माण गर्नेहरु नै संविधान कार्यान्वयनका लागि गम्भीर नबनेको बताए । नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले संविधान कार्यान्वयनका लागि स्वयं राजनीतिक दलहरु नै गम्भीर नबनेको बताए ।

कार्यक्रममा नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्रबहादुर शाही, पूर्व अध्यक्ष विकास आचार्य, अधिवक्ता विश्वजित तिवारी, महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक रुद्रप्रसाद तिमिल्सिना, वरिष्ठ पत्रकारद्वय हेमन्त कर्माचार्य र शिव डोटेल, सामाजिक अभियन्ता डा. विनोद कर्ण, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्टप्रसाद धिताल, डब्लु.डब्लु.जे. बाँकेकी अध्यक्ष सावित्री गिरी लगायतले संविधान जारी भएको आठ वर्ष बित्दा पनि संविधानले कार्यान्वयनको सही ट्रयाक पकड्न नसकेको बताए । संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा समस्या भइरहेको उनीहरुको भनाई छ ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भीष्म लोधले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्