भारतीय कूटनीतिज्ञलाई निकाला गरेपछि भारतले पनि निष्कासन गर्यो क्यानडाका कूटनीतिज्ञ

मंगलबार, असोज २, २०८०

काठमाडौं । क्यानडाले भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ ।

क्यानडाले शिख नेता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । 

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ ।

नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई ५ दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को आकष्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँदिल्ली संलग्न रहेको आरोप लगाएका थिए । गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए । 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानडामा भारत विरोधी गतिविधि बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानडाको भूमिलाई भारतका विरुद्ध उपयोग हुन नदिन आफ्ना समकक्षीलाई अनुरोध गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्