सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आर्थिक वर्ष २०७९-८० का देशभरका सबै सरकारी भुक्तानीहरु बन्द भएका छन् ।
महालेखा नियन्त्रकको कार्यालयले गए राति १२ बजेदेखि सङ्घ, प्रदेश र स्थानीय तहको आर्थिक कारोबार हुने सबै खाता रोक्का गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो आर्थिक वर्षको कारोबार बन्द भएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिएका छन् ।
उनका अनुसार गए रातिदेखि कुनै पनि रकम भुक्तानी लिन पाइने छैन । प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन ।
राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेक आज पनि साटिन सक्नेछन् । तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न भने नपाइने सूचना अधिकारी खनालले बताए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ ।