बैतडी र दार्चुला सञ्चारविहीन

मंगलबार, असोज २, २०८०

धनगढी । सुदूरपश्चिमका बैतडी र दार्चुला सञ्चारविहीन बनेका छन् । उक्त प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध हुँदा विभिन्न सेवा प्रभावित बनेको छ।

सोमबार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए ।

सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ।  मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए ।  

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताए । उनले भने, “अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ । 

पानी परिरहेकाले केही ढिलाइ भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्