नेपालगञ्जमा सवा करोडको ब्याडमिन्टन प्रशिक्षण केन्द्र उद्घाटन

सोमबार, असार २५, २०८०

नेपालगञ्ज । नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण भएको छ ।

वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी व्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पूर्व मन्त्री मो. इस्तियाक राईले धम्बोझी व्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको उद्घाटन गरेका हुन् । 

१ करोड १५ लाख लागतमा निर्माण सम्पन्न भएको धम्बोझी ब्याडमिन्टन कोर्ट बालबालिका र युवालाई लक्षित गरी बनाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए । 

शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई नेपालगञ्जको ६६ लाख, नेपालगञ्ज उपमहानगरपालिकाको ३४ लाख र वडा नम्बर १ को १५ लाख रुपैयाँमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र तयार भएको रिजालले जानकारी दिए । राई मन्त्री हुँदा मन्त्रालयले उक्त बजेट छुट्याएको थियो । 
    
ब्याडमिन्टन प्रशिक्षण केन्द्र उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा धम्बोझीमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका राजुराज शाही, सन्दिप सिंह, रमेश मल्ल, लक्ष्मण थापा मगर, लक्ष्मी गुरुङ, राजु थापा मगर, अशोककुमार पुन मगरलाई सम्मान गरिएको थियो ।
 
उद्घाटनका क्रममा पूर्व मन्त्री राई र नगर प्रमुख विष्ट तथा प्रमुख जिल्ला अधिकारी आचार्य र वडाध्यक्ष रिजालको जोडी बनेर मैत्रीपूर्ण ब्याडमिन्टन खेल समेत खेलेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्