रुपन्देहीबाट ३० लाखको लत्ताकपडा बरामद, मकवानपुरमा कन्टेनरसहित ९२० किलो गाँजा नियन्त्रणमा

सोमबार, असोज १, २०८०

काठमाडौं । सशस्त्र प्रहरी देशभरका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध सामाग्री र करिब एक क्विन्टल  गाँजा बरामद गरेको छ।

अवैध सामाग्री बरामदकै क्रममा रुपन्देहीबाट सशस्त्र प्रहरीले लाखौं रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। 

जिल्लाको रोहीणी गाउँपालिका-५ स्थित तरकुलहवाबाट घरमा लुकाई राखिएको अवस्थामा सशस्त्र प्रहरी ३० लाख रुपैयाँको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल लुम्बिनी प्रदेश प्रमुख डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

डीआईजीका खत्रीका अनुसार विशेष सूचना पाएर     खटिएको सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको टोलीले दुई जना स्थानीयको घरमा लुकाइराखेको अवस्थामा ३० बोरा लत्ताकपडा र २ पोका प्लाष्टिक लेमिलेशन पेपर बरामद गरेको हो।

आइतबार बरामद गरिएको ३० लाख रुपैयाँ बराबरका उक्त अवैध लत्ताकपडा तथा सामाग्रीलाई आबश्यक कारबाहीका लागि भैरहवा भन्सार बुझाएको डीआईजी खत्रीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी लुम्बिनीको कमान्ड सम्हालेपछि डीआईजी खत्रीले तस्करीविरुद्द खरो रुपमा उत्रन निर्देशन दिदै आउँदै गर्दा सशस्त्र प्रहरीले लुम्बिनीमा तस्करीविरुद्द झनै खरो रुपमा उत्रदै आएको छ।

कन्टेनरसहित ९२० किलो गाँजा बरामद 

मकवानपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. १४ गणले भारतीय कन्टेनरमा ल्याउँदै गरिएको ९ सय २० किलो गाँजा, कन्टेनरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

चितवनको खुरखुरेबाट वीरगन्जतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५ नम्बरको भारतीय कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त गाँजा आइतबार बरामद गरेको हो।

सशस्त्र प्रहरीले पाएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१४ गण मकवानपुरबाट खटिएको टोलीले हेटौडा-१० बसपार्कस्थित

पूर्व–पश्चिम लोकमार्गबाट ९ सय २० किलो गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार गाँजासहित पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्लास्थित बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र ३६ वर्षीय योगेश वर्मा रहेका छन् ।

बरामद गरिएको गाँजासहितको कन्टेनर र पक्राउ परेका दुई जनालाई  आवश्यककारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको सशस्त्र प्रहरीले जनाएको  छ।

 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्