कोहलपुरलाई हरित शहरमा बिकास गर्ने लुम्बिनीका मुख्यमन्त्रीको प्रतिबद्धता

सोमबार, असार २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । विकसित बन्दै गएको कोहलपुरलाई  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति अन्तरगत बाँकेको कोहलपुरस्थित कोहलपुर नेपालगन्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहर भन्दा पनि कोहलपुरलाई हरियाली सहरको रुपमा चिनाउनुपर्ने बताए। 

"अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ," उनले भने, "कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्ण साथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ ।" उनले त्यसका लागि नगरबासीको पनि सहयोग हुन जरुरी रहेको औंल्याए। "बोटबिरुवा रोप्नु मात्र ठूलो कुरा होइन, संरक्षण महत्त्वपूर्ण कुरा हो," उनले भने, "संरक्षणमा स्थानीयबासीले सहयोग गर्नुपर्‍यो ।" उनले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षारोपण गर्न पनि सुझाव दिए । "नगरलाई हरित नगर बनाउनुको विकल्प छैन," उनले भने, "तर, बोटबिरुवा रोप्दा जनताले रुचाएका बिरुवा रोप्नुपर्छ । यसले बिरुवा संरक्षणमा स्थानियको चासो बढ्छ ।" उनले घरमा फलफूलका बिरुवा रोप्न सुझाव दिंदै यसले पोषणमा पनि सुधार ल्याउने धारणा व्यक्त गरे ।

लुम्बिनी प्रदेश सदस्य सन्जुकुमारी चौधरीले कोहलपुरलाई हरित नगर बनाउने सवाल प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारले जोड दिनुपर्ने बताइन् । अर्का प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले कोहलपुर नगरपालिकामा थालिएको हरित नगर अभियानले कोहलपुरलाई नमूना सहर बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । 

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए । आचार्यले बिगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भएपनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याव परिक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिए । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिंदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न नगरबासीलाई आह्वान समेत गरे । 

कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, राष्ट्रपति चुरे-तराई मधेस संरक्षण समितिका वोर्ड सदस्य भेषराज आचार्य, राष्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीका प्रमुख हरिबंश आचार्य लगायतले बोलेका थिए ।

उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकाको ३ लाख २५ हजार, राष्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाई कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्