प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

शनिबार, भदौ ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  अमेरिका प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, सुरक्षा अधिकारी र सञ्चारकर्मी सहभागी छन् । 

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिलगायतले बिदाइ गरेका थिए।

परराष्ट्र मन्त्री यसअघि नै एनपी साउदसहितको टिम भने मंगलबार नै न्यूयोर्क गएको थियो ।

प्रधानमन्त्री दाहाल आगामी असोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । अमेरिकाबाट प्रधानमन्त्री प्रचण्ड सिधै असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछन् । 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्