प्रेस युनियन बाँकेको तीज महोत्सव र लेखनवृत्ति प्रतियोगिता

बिहीबार, भदौ २८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ ।

तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलोपटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो। 

प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष निशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी सहितका अतिथिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गरेका हुन् ।

युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अबदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहेका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिए ।

आजको तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारितातर्फ प्रेरित गरेको बताइन् ।

लेखन सीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उनको भनाई छ ।

प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन् । ‘प्रेस युनियनले प्रारम्भ गरेको अभियान सकारात्मक छ,' उनले भनिन्–‘प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन । यसलाई निरन्तरता दिने काम होस् । संस्थागत सहयोगका लागि म सधैं प्रेस युनियनको साथमा छु ।’

लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने र उनीहरुलाई पत्रकारितामा टिकाई राख्नका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन् ।

यस्तै अर्का प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफू सदैब तयार रहेको बताइन् । यस्तै अर्का प्रतिनिधिसभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफू सकारात्मक रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए ।

नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखाका सहसचिव माया अधिकारीले गरेकी थिइन् ।

लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्वितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विक सान्त्वना भएका छन् । प्रथम हुने योगिले रु. ५ हजारसहित प्रमाणपत्र, द्वितिय हुने सुवेदीले रु. ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले रु. २ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने विकले रु. १ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिइन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्