६० जना पत्रकारको नि:शुल्क आँखा जाँच

बिहीबार, भदौ २८, २०८०

बाँके  । बाँके जिल्लाका ६० जना पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा अवधि पत्रकार संघ नेपालले पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको हो ।

आँखा जाँचमा एक जना पत्रकारको मोतिविन्दु देखिएको र करिब दुई दर्जन पत्रकारहरुको आँखामा सुख्खापन लगायतका सामान्य समस्या देखिएको फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकले बताए ।

निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले बताए ।

उनका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उनीहरुको शल्यक्रियामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । 

प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताए। आँखा जाँच कार्यक्रमको शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले संघले पत्रकारहरुका लागि गरेको सामाजिक तथा मानवीय सेवा अन्र्तगतको कार्यक्रमले पत्रकारहरुले बढी लाभ लिएको बताए ।

उनले मानिसको सबैभन्दा बढी संबेदनशील आँखा भएकाले आँखाको परीक्षणमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । फत्तेबाल आँखा अस्पतालका लेखा प्रमुख जीतबहादुर चौधरीले अस्पतालबाट प्रवाह गर्ने सेवाको बारेमा जानकारी गराउँदै आँखाको बढी हेरचाह गर्नुपर्नेमा जोड दिए । 

शुभारम्भ कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिव जयसिंह केसी, सदस्य मो. आरिफ अन्सारी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, अवधि पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, जिल्ला अध्यक्ष प्रहलाद विश्वकर्मा, सल्लाहकार माधवराम बर्मा, शिवप्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो ।

अवधिभाषी पत्रकारहरुको छाता संगठनको रुपमा अवधि पत्रकार संघ नेपाल स्थापना भएको छ । संघको स्थापना भएको १५ वर्ष पूरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशील रही अवधि भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ । 

संघको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने  निर्णय अनुसार आज आँखा जाँच गरिएको छ भने भदौ ३० गते अवधिभाषी महिला पत्रकारहरुको अवस्थाको बारेमा छलफल तथा तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम र पत्रकारहरुलाई प्राथमिक उपचार तथा जोखिम पत्रकारिताबारे एक दिने अभिमुखीकरण कार्यक्रम गरिने संघका अध्यक्ष राकेशकुमार मिश्रले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्