चितवनबाट ६ वटा बाघको उद्दार, एउटा बाघ बाँके निकुञ्ज पठाइयो

सोमबार, असार २५, २०८०

चितवन। चितवन राष्ट्रिय निकुञ्जले   ६ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये ३ वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए।

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोर इलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा १-१  वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए । 

उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा ४ वटा भाले र २ वटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते ७ वटा बाघको उद्धार गरेको थियो । जसमध्ये २ वटा उपचारका क्रममा मरेको, ४ वटाको आनिवानिमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए । यस वर्ष उद्धार गरिएका बाघमध्ये २ वटा पोथी र ५ वटा भाले रहेका छन् ।

निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ। निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा ३ वटा र सौराहामा रहेको खोरमा २ वटा बाघ रहेका छन् । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् ।

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्