सुन प्रकरणमा सीआईबीले ५० जनालाई बनायो प्रतिवादी, साढे ३ अर्ब बढी बिगो दाबी

बुधबार, भदौ २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । हङकङबाट तस्करी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बहिरिएको ६० किलो ७१६ ग्राम सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरुविरुद्ध ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपैयाँबराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन आज  बुझाएको हो । 

सुन प्रकरणमा सीआईबीले  ५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेका जानकारी दिएको छ। 

पक्राउ परेका ३२ जनामध्ये २३ जना नेपाली र ९ जना विदेशी प्रतिवादी छन् । यसैगरी फरार रहेका १८ जनाप्रतिवादीमध्ये ४ जना नेपाली र १४ जना विदेशी रहेका सीआईबीले जानकारी दिएको छ।

प्रतिवादीहरुविरुद्द संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने रायसहित प्रतिवेदन सीआईबीले सरकारी वकिल कार्यालयलाई बुझाएको छ। 

सीआईबीको अनुसन्धानमा उक्त तस्करी प्रकरणमा थप ३०२ किलो सुन तस्करी गरेर नेपाल ल्याइएको खुलेको छ । 

उक्त सुन  साउन २ गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको ६० किलो ७१६ ग्राम सुन आन्तरिक राजश्व विभागले बरामद गरेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्