भेरी नदीको चेपमा भेटियो डोल्पाका मेजर पण्डितको शव

बुधबार, भदौ २७, २०८०

डोल्पा। डोल्पा मंगलबार भेटिएको शव गत भदौ १० गते अपराह्नदेखि बेपत्ता भएका डोल्पा सदरमुकामदुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपति मेजर विमल पण्डितकै रहेको पुष्टि भएको छ।

गत भदौ १० आइतबार अपराह्न साढे ४ बजे ब्यारेकबाट साथीहरुसँग घुम्न निस्किएर साथीहरुलाई बिचबाटै फर्काएर एकाएक बेपत्ता भएका मेजर पण्डितको शव मंगलबार त्रिपुरासुन्दरी नगरपालिका-५ चिन्डेबगरमा माछा मार्न गएका स्थानीयहरूले फेला पारेपछि  उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए।

खदाङ प्रहरीले डोल्पाका डीएसपी शिव बुढाथोकीसहितको नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम लगेर औंठी र घडीको आधारबाट मेजर पण्डित भएको पुष्टि भएको डोल्पाका डीएसपी बुढाथोकीले जानकारी दिए।

"मंगलबार बिहानै खदाङस्थित भेरी नदीको चेपमा ढुंगाको बीचमा एउटा शव रहेको खबर माछा मार्न गएका स्थानीयबाट आएपछि हाम्रो प्रहरीको टोली र नेपाली सेना पुगेर शव निकालेर सदरमुकाम ल्यायौं", डीएसपी बुढाथोकीले भने।

शव धेरै दिनदेखि पानीमा रहेकाले अनुहारबाट पहिचान नै हुन नसकेपनि मेजर साबको बुवाले शवको पहिचान गरेको डीएसपी बुढाथोकीले बताए।

प्रहरीको अनुसन्धानमा मेजर पण्डित बेपत्ता भएका दिन ब्यारेकबाट निस्किएर जीप भाडामा लिएर त्रिपुराकोट गएको रहस्य बाहिर आएको छ। मेजर पण्डितले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो जीप भाडामा लिएको डीएसपी बुढाथोकीले बताए ।

मेजर पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद पैसा साथमा नभएको र उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन ट्रान्सफर गर्दिन्छु’ भनेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी बुढाथोकीले भने।

मेजरले चालक बस्नेतसँग बैंकको खाता नम्बर नभएको बताएपछि गाडीबाट झरेर केही पसलेसँग अनलाइन बैंकीङबारे सोधेर त्यहाका पसलेहरूले पनि अनलाइन बैंकीङ आफुहरुसँग नभएको जानकारी दिएपछि बस्नेतले जीप मालिकसँग मेजर पण्डितलाई भेटाइदिएको प्रहरीको अनुसन्धानले देखाएको छ।

बस्नेतले जीप मालिकसँग भेटाएपछि मेजर  पण्डितले साढे २६ हजार रुपैयाँ अनलाइन  ट्रान्सफर गरेर आफुले नगद लिदै साढे  ६ हजार रुपैयाँ जीपको  भाडा तिरेका थिए।

मेजर पण्डितले जीपबाट ओर्लिएर एउटा पसलमा चप्पल र झोला बोकेर सम्पर्कविहीन भएको प्रहरीको  अनुसन्धानमा देखिन आएको डीएसपी बुढाथोकीले बताए। 

प्रहरीको अनुसन्धानका क्रममा गाडी चालक बस्नेतले  पण्डित मेजर भएको थाहा नपाएको र उनी जीपमा  चढेपछि निकै हतास देखिएको बयानमा भनेको प्रहरीले जानकारी दिएको छ।  जीपमा चढेका बेला मेजरलाई २-३ पटक मोबाइलमा फोन आएर उनले फोनमा केहीबेर कुरा गरेको पनि चालक बस्नेतले प्रहरीलाई बताएको डीएसपी बुढाथोकीले भने। 

मेजर पण्डित जीपमा बसेपछि जति पैसा लागे पनि म पैसा तिर्छ माथिसम्मै पुर्‍याइदेउ भनेपनि पुल नभएको र बाटो बिग्रिएकाले माथि जान नसक्ने चालक बस्नेतले बताएपछि उनी त्रिपुराकोटमै जीपबाट ओर्लिएको बुढाथोकीले बताए  । चालक बस्नेतले बयानमा भने अनुसार मेजर पण्डितको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो।

प्रहरीका अनुसार मेजर पण्डितको मोबाइल भदौ १० साँझ ७ः१५ बजेसम्म एक्टिभ देखिएको र त्यसपछि  मोबाइल एक्टिभ नदेखिएको डीएसपी बुढाथोकीले बताए।

प्रहरीले मेजर पण्डितको शवलाई  मंगलबार राति नै पोष्टमर्टमका लागि डोल्पा जिल्ला अस्पताल पठाएको छ।

मेजर पण्डित बेपत्ता भएकै दिनदेखि संयुक्त सुरक्षा फौजले उनी जान सक्ने सम्भावित ठाउँको खोजि गर्दा समेत अझै फेला पार्न सकेको थिएन।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्