बाँकेको शम्शेरगन्ज बस दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री कोहलपुरमा

आइतबार, भदौ २४, २०८०
Neuro hospital Nepalgunj

कोहलपुर ( बाँके )। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी बाँकेको राप्तीसोनारीस्थित शम्शेरगन्ज बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुगेका छन् ।

शुक्रबार राति दाङको भ्रमण सकेर बर्दिया जाँदै गरेको बस राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगन्जमा रोकिराखेको ट्रकमा ठक्कर खाएर भएको दुर्घटनामा ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए। 

मुख्यमन्त्री चौधरी आज आफै कोहलपुर पुगेर घाइतेहरुको स्वास्थ्य अवस्था बुझेर घाइतेहरुको उपचारमा कुनै कमि नराख्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका थिए। घाइतेहरुलाई मुख्यमन्त्री चौधरीले शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

मुख्यमन्त्री चौधरीले बस दुर्घटनामा मृतकका परिवार र घाइतेहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने बताएका छन् । मुख्यमन्त्री चौधरीलाई अस्पताल प्रशासनले घाइतेहरुको उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिएको छ।

त्यस्तै अत्यन्त गम्भीर घाइतेहरुलाई मध्ये त्यहाँ उपचार सम्भव नभएकालाई बाहिर रिफर गरिएको र अन्य घाइतेहरुको कोहलपुरमै  उपचार भइरहेको अस्पतालले मुख्यमन्त्री चौधरीलाई जानकारी गराएको थियो।

बर्दिया ठाकुरबाबा नगरपालिका-९ बेतहनीबाट सामुदायिक वन समुहको टोली दाङ भ्रमणबाट बर्दिया  फर्किदै गर्दा ४१ जना यात्रु सवार ना ७ ख २३२१  बस र शम्शेरगन्जमा रोकिराखेको  ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँएर दुर्घटना भएको हो। 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्