अमेरिका बसेर नेपालबाट मानव तस्करी

आइतबार, भदौ २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पश्चिम नेपालको रूकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

यसरी अमेरिका पठाउने क्रममा गौतमले दुई करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। उनको सुरुआती घर भने पश्चिम नेपालको रूकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो।

गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरूद्ध भने यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्युरोले अनुसन्धान थालिसकेको छ। उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युनाइटेड अरब इमिरेट्स (युएई), सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलं‌का, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ। उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 

‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ’, उनले भने।

उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरूपयोग गरेको पाइएको छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्‍याइ राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।

एजेन्टले भने जति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ।

गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस।

 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्