नयाँ दिल्लीमा जी-२० शिखर सम्मेलन शुरु

शनिबार, भदौ २३, २०८०

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा जी–२० शिखर सम्मेलन शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विशिष्ठ अतिथिहरुलाई स्वागत गरेपछि मन्डपममा कार्यक्रम शुरु भएको हो। 

नयाँदिल्लीस्थित प्रगति मैदानमा युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलन चलिरहेको छ । यो दुई दिनसम्म चल्नेछ।

सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थिति रहेको भए पनि यसले केही फरक नपर्ने दाबीसमेत गरिएको छ । 

शिखर सम्मेलनको पूर्वसन्ध्यामा मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । उनले   साझा भविष्यका  निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिएका हुन् । 

प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्य भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताएका छन् । 

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्