हुकिङ गरेर बाँकेमा विद्युत चोरी

मंगलबार, भदौ १९, २०८०

बाँके । बाँकेमा प्रत्यक्ष रूपमा हुकिङ गरेर विद्युत चोरी भएको छ। त्यसबाहेक मिटरबाट समेत विद्युत चोरी भएको नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले जनाएको छ।

जिल्लाका नेपालगञ्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत हुकिङ गरेर चोरी भएको नेपालगञ्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म सात जनालाई पक्राउ गरिएको जानकारी दिँदै उनले छड्के निरीक्षणका क्रममा विद्युत चोरी भएको पाइएको बताए।

अवैध रूपमा विद्युत चोरी गरेकाहरूबाट दुई लाख ९३ हजार पाँच सय ४६ रूपैयाँ राजस्वसमेत संकलन भएको वितरण केन्द्रले जानकारी दिएको छ।

आर्थिक वर्ष २०७९/८० मा पनि डुडुवा, हिरीमिनिया, खजुराको सी गाउँ लगायतका ठाउँबाट विद्युत चोरी भएको थियो।

उक्त विद्युत चोरी भएका क्षेत्रबाट करिब दुई लाख २० हजार रूपैयाँ राजस्व संकलन भएको वितरण केन्द्रले उल्लेख गरेको छ। 

वितरण केन्द्रका प्रमुख प्याकुरेलले पछिल्लो समय विद्युत चोरीको घटनामा कमी आएको उल्लेख गर्दै चोरी हुने क्षेत्रमा निगरानी बढाइएको जानकारी दिए। 

उनले तरकारीको पकेट क्षेत्रमा विद्युतका लागि मिटरको माग बढी रहेको र सबै वडामा विद्युत विस्तार भएर पनि बजार र बाटो साँघुरो भएका कारण ट्रान्सफर्मर राख्ने स्थानको अभाव भएको बताए।

टोलटोलमा ट्रान्सफर्मर राख्ने अवस्था आएको छ, तर पोललाई आड लगाउने स्थान पनि छैन, उनले भने।

त्यस्तै विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रमा अहिलेसम्म ४४ करोड २५ लाख ४३ हजार एक सय ३७ रूपैयाँ बक्यौता छ। रासस।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्