खोलाले बगाउँदा स्कुलबाट फर्किदै गरेका दाजुबहिनीको मृत्यु

सोमबार, भदौ १८, २०८०

रुकुम पश्चिम।  रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् । 

मनोज र भावना एकै घरका दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उनले बताए ।

मनोजको  एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् ।

उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो । रासस ।

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्