बर्दिया जेलबाट आज भागेका भाइ नाइके ९ वर्षअघि पनि अदालतबाटै भएका थिए फरार

आइतबार, भदौ १७, २०८०
Neuro hospital Nepalgunj

बर्दिया । वि.सं.२०७१ मा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा पक्राउ परेर कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका बर्दिया कारागारका भाइ नाइके अजित बुढा क्षेत्री कारागार (जेल) बाट फरार भएका छन्। 

९ वर्षअघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परी अदालतबाट हतकडीसहित  फरार भएका बुढा क्षेत्री बर्दियास्थित कारागार गुलरियाबाट फरार भएका हुन्। 

भाइ नाइकेसमेत रहेका बुढा आज बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेर अग्लो काँडेतार लगाएको पर्खालबाट हामफालेर फरार भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

त्यतिबेला फरार भएका उनी ८ वर्ष भारतमा लुकेर बसेर नेपाल आई गाउँमै लुकेर बसेको अवस्थामा प्रहरीले ११ महिनाअघि मात्र पक्राउ गरेको थियो।

प्रहरीका अनुसार कारागारका नाइके, भाइ नाइकेहरूलाई अरू कैदीबन्दीहरु भन्दा छुट्टै सुविधा दिइने र अरु कैदीबन्दीहरूसँग नभई उनीहरुलाई बस्ने सुविधा पनि छुट्टै हुनुका साथै हतकडी पनि नलगाइने हुँदा सोही मौका पारेर बुढा क्षेत्री बिहान फरार भएका हुन् ।

फरार भएका बुढा क्षेत्रीको खोजी कार्य गरिरहेको र जिल्लाका अधिकांश प्रहरी चौतर्फी परिचालन गरिएको बर्दिया प्रहरीले जनाएको छ।

उनी भारत जान सक्ने हुँदा भारतीय प्रहरीसँग पनि समन्वय गरिएको बर्दिया  प्रहरीले जानकारी दिएको छ।

२०७१ साल चैतमा ठाकुरबाबा नगरपालिका-८ का १८ वर्षीय फरार बुढा क्षेत्रीले ७९ वर्षीय छिमेकी जोरासिंह थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका थिए।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्