आधा घण्टाको मुसलधारे वर्षाले जलेश्वर जलमग्न

शुक्रबार, भदौ १५, २०८०

महोत्तरी । करिव आधा घण्टा जतिको लगातार मुसलाधारे वर्षाले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ  । 

तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ ।

पानीका कारण बाटोमा सवारी साधन गुडाउन समस्या भएपछि कार्यालयमा कामकाजका लागि आउजाउ गर्ने सेवाग्राहीसमेत मारमा परेका छन् ।

लामो समयदेखि पानी नपरेका कारण नगरभित्रको सम्पूर्ण ढल जाम भएर जलेश्वर अहिले जलमग्न भएको हो ।  पानीको निकासका लागि विभिन्न स्थानमा स्काभेटर तथा डोजर लगाइएको छ । रासस।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्