दुई लाखलाई रोजगारी दिने लुम्बिनीका मुख्यमन्त्रीको योजना

आइतबार, असार २४, २०८०

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेले प्रदेश सरकारले दुई लाखलाई रोजगारी दिने योजना बनाएको बताएका छन् । 

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले दुई लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब छुट्याइएको जानकारी दिँदै यसका लागि संघीय सरकारबाट थप रकम माग गरिएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनलाई ब्राण्डिङ गर्ने गरी काम गरिरहेको बताए । पत्रकारहरुको जिज्ञासामा चौधरीले साउनमा सरकारले पूर्णता पाउने बताए ।

उनले लुम्बिनीका १२ जिल्लालाई त्यहाँको संस्कार र संस्कृति अनुसार विभिन्न सांस्कृतिक हबका रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको बताए । दाङ, बाँके र बर्दियालाई थारु सांस्कृतिक हबका रुपमा विकास गरिने चौधरीको भनाई छ । चौधरीले बाँकेलाई शैक्षिक हब बनाउने गरी बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालाय स्थापना गरिएको जानकारी दिँदै समग्र प्रदेशको शिक्षा विकासको जिम्मेवारी अब बाँकेको काँधमा आएको समेत बताए ।

यसअघि बाँके र बर्दियाले कम बजेट पाएको गुनासो गर्दै आएकोमा यसपटक बाँके र बर्दियालाई यथेष्ट बजेट विनियोजन गरेर न्याय गरेको मुख्यमन्त्री चौधरीको भनाई छ । उनले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नलाई स्काई ब्रीज बनाइने बताए । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्